Ncell Logo

कोभिडको कारण तीन महिनाको अवधिमा एनसेललाई पौने ५ अर्बको घाटा

Spread the love

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले तीन महिनाको अवधिमा पौने ५ अर्बको घाटा व्यहोरेको छ । कोभिड महामारीले गर्दा कम्पनीले तीन महिनाको अवधिमा ४ अर्ब ७८ करोड ६० लाख रुपैयाँ घाटा व्यहोर्नु परेको हो । एनसेलको प्यारेन्ट कम्पनी आजियाटाले प्रकाशित गरेको दोस्रो त्रैमासिकको वित्तीय प्रतिवेदनअनुसार एनसेलले सन् २०१९ को दोस्रो त्रैमासिकमा १४ अर्ब ३२ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । तर यस वर्षको सोही अवधिमा एनसेलको आम्दानी घटेर ९ अर्ब ५४ करोड रुपैयाँ मात्र आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीले गत वर्षको पहिलो तीन महिनामा १३ अर्ब ५२ करोड ७० लाख रुपैयाँ आम्दानी रहेको थियो । तर चालु वर्षको सोही अवधिमा १२ अर्ब ३ करोड ९० लाख रुपैयाँ मात्रै आम्दानी गरेको हो । जसअनुसार कम्पनीले पहिलो त्रैमासिक अवधिमै १ अर्ब ४८ करोड ८० लाख रुपैयाँ गुमाएको थियो । कम्पनीको डेटा तर्फको कूल आम्दानी भने बढ्दै गएको छ । गत वर्षको दोस्रो त्रैमासिक अवधिमा डेटाको योगदान २२ प्रतिशत मात्र रहेको थियो । तर चालु वर्षको पहिलो तीन महिनाको तुलनामा कूल आम्दानीमा डेटाको हिस्सा ४ प्रतिशतले बढेर २६ प्रतिशत पुगेको छ । डेटाको हिस्सा ४ प्रतिशतले बढेसंगै एनसेलले पछिल्लो तिन महिनाको अवधिमा डेटा बिक्री वापत २ अर्ब ४८ करोड रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले गत वर्षको दोस्रो त्रैमासिकमा डेटा बिक्रीवापत ३ अर्ब १५ करोड १६ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको थियो । कुल आम्दानीमा डेटाको योगदान बढे पनि तीन महिनाको अवधिमा कम्पनीले डेटातर्फ ६७ करोड १३ लाख ७० हजार रुपैयाँले आम्दानी गुमाएको छ । कम्पनीको आम्दानीसँगै खुद सम्पत्तिमा समेत गिरावट आएको छ । गत वर्ष जुन महिनासम्म कम्पनीको खुद सम्पत्ति ८२ अर्ब ४१ करोड ४० लाख रहेको थियो । तर २०२० को सोही अवधिसम्म आइपुग्दा कम्पनीको खुद आम्दानी ७१ अर्ब ९५ करोड ६० लाख रहेको छ । त्यस्तै कम्पनीको सञ्चालन खर्च भने बढेको छ । गत वर्षको दोस्रो त्रैमासिकमा सञ्चालक खर्च ३७.४ प्रतिशत रहेको थियो । यस वर्षको सोही अवधिमा सञ्चालन खर्च बढेर ४९.७ प्रतिशत पुगेको हो ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *