अनलाइन कक्षा सञ्चालन गर्न शिक्षक र विद्यार्थी लाई ५०० रुपैयाँमा ३५ जीबी डाटा दिँदै टेलिकम
कोभिड–१९ महामारीका कारण सिर्जित हालको कठिन परिस्थितिमा अनलाइन माध्यममार्फत कक्षा सञ्चालनको लागि सस्तो मूल्यमा डाटा उपलब्ध गराउन नेपाल टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गजाइजेशन नेपाल (प्याब्सन) बीच सम्झौता भएको छ ।
कम्पनी र विश्वविद्यालय अनुदान आयोगबीच सम्झौता भएर देशभरका विश्वविद्यालय, आङ्गिक क्याम्पस तथा सामुदायिक क्याम्पसका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्तालाई उपलब्ध गराइएको ‘ह्याप्पी लर्निङ प्याक’ मङ्गलबारदेखि विद्यालयस्तरका विद्यार्थी तथा शिक्षकका लागि पनि उपलब्ध गराउन प्याब्सनसँग सम्झौता भएको हो ।
सम्झौतामा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत भानुराज श्रेष्ठ र प्याब्सनका उपाध्यक्ष एवं ई–लर्निङ संयोजक दीपिका थापा रिमालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार कम्पनीले विश्वविद्यालय, आङ्गिक क्याम्पस तथा सामुदायिक क्याम्पसका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्तालाई उपलब्ध गराइएको ‘ह्याप्पी लर्निङ प्याक’ अब विद्यालयस्तरका विद्यार्थी तथा शिक्षकले पनि प्रयोग गर्न पाउने भएका छन् । यो प्याकेजका प्रयोगकर्ताले ३ सय १५ रुपैयाँमा २४ जीबी र ५ सयमा ३५ जीबी डाटा प्राप्त गर्न सक्नेछन् । २४ जीबी डाटा प्याकेजमा २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिट मा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
यसैगरी ३५ जीबी डाटा प्याकेजमा ३० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मीटमा ई–लर्निङ एप्लिकेशन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत २८ दिन सम्म आफूलाई उपयुक्त हुने कुनै पनि समयमा प्रयोग गर्न सकिने छ ।
नेपाल टेलिकमको ‘ह्याप्पी लर्निङ प्याक’ प्रयोग गर्नका लागि प्याब्सनले सम्पूर्ण विद्यालयहरुलाई अनुरोध सहितको जानकारी पठाउने छ । जानकारी प्राप्त भएपछि विद्यालयहरुले प्याकेज प्रयोग गर्नका लागि आफ्ना विद्यार्थीहरुको मोबाइल नम्बरको सूची edupack@ntc.net.np मा इमेलमार्फत पठाउनु पर्नेछ । यसका साथै विद्यार्थीहरुले आफै नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा गएर आवश्यक विवरण लेखी ह्याप्पी लर्निङ प्याक लिनका लागि रजिष्ट्रेसन गर्न सक्नेछन् ।